सिरहा, १ भदौ ।
सिरहाको धनगढीमाई नगरपालिका स्थित जिरो माइलमा आज कोशी ग्यास खरिद गर्ने उपभोक्ताको ठूलो घुइँचो लागेको छ। गत हप्ताको तुलनामा आज ग्यास लिन आउने उपभोक्ताको संख्या दोब्बर बढी देखिएको छ।

बिहानैदेखि सिलिन्डर बोकेर लाइनमा बसेका सर्वसाधारणले घण्टौंसम्म सास्ती व्यहोर्नुपरेको छ। बजारमा ग्यासको माग बढेको तर आपूर्ति सहज हुन नसक्दा र वितरण व्यवस्थित नहुँदा उपभोक्ताहरू यसरी सास्ती भोग्न बाध्य भएका हुन्।
स्थानीयका अनुसार अघिल्लो साताभन्दा आज उपभोक्ताको संख्या निकै बढी छ। दैनिक उपभोग्य वस्तु ग्यासका लागि अझै कति दिन लाइन बस्नुपर्ने हो भन्नेमा स्थानीय उपभोक्ताहरू चिन्तित बनेका छन्। सम्बन्धित निकाय र वितरकले सहज आपूर्ति र पारदर्शी वितरणको व्यवस्था मिलाउनुपर्ने माग स्थानीयको छ।






