2026 September 01, Tuesday

बाँके (कोहलपुर) — दैलेखको आठबिस नगरपालिका–३ लेकगाउँमा निर्माणाधीन कालिका भैरव मन्दिरको पहिलो तलाको ढलान कार्य स्थानीयको सक्रिय सहयोग र सहभागितामा सफलतापूर्वक सम्पन्न भएको छ।

मन्दिर निर्माणका लागि सम्बन्धित वडाबाट विनियोजन गरिएको रु २ लाख बजेटले निर्माणकार्य पूरा गर्न नपुगेपछि रोकिने अवस्था आएको थियो। तर निर्माण समिति, स्थानीय भक्तजन तथा गाउँलेहरूको पहलमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गर्दै निर्माण कार्यलाई निरन्तरता दिइएको हो।

निर्माण समितिका अध्यक्ष धनिराम जैसी र सचिव मिमराज जैसीका अनुसार आगामी चरणमा मन्दिरको थप दुई तलाको ढलान गर्ने योजना रहेको छ। त्यसका लागि स्थानीय तथा देश–विदेशमा रहेका शुभेच्छुकसँग सहयोग जुटाउने अभियान पनि अघि बढाइएको उनीहरूले बताए।
मन्दिरका पुजारी विष्णुप्रसाद जैसीका अनुसार आफन्त, चिनजानका साथीभाइ तथा विभिन्न स्थानबाट आर्थिक सहयोग प्राप्त भइरहेको छ। मन्दिर निर्माणलाई पूर्णता दिन सबै श्रद्धालु भक्तजन, स्थानीयवासी तथा सहयोगीदाताप्रति उनले आभार व्यक्त गरेका छन्।

कालिका देवी र भैरव देवताको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र प्रगतिको आशीर्वाद रहोस् भन्ने कामनासहित स्थानीयको साथ र सहयोगबाट मन्दिर निर्माण कार्यलाई पूर्णरूपमा सफल बनाउने लक्ष्यका साथ अभियान निरन्तर जारी रहेको पुजारी जैसीले बताए।