नेपालगञ्ज । भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेवा: पुचः बाँकेको आयोजनामा नेपालगञ्जमा आयोजित ‘गाइजात्रा (सा:पारु) २०८३’ कार्यक्रम सम्पन्न भएको छ ।
भदौ १३ गते आयोजित जात्रा सुर्खेतरोडस्थित स्वस्तिक कटेजबाट सुरु भई बागेश्वरी पार्कमा पुगेर समापन भएको हो। जात्रामा विभिन्न नेवा: गुठी तथा संघ–संस्थाको सहभागिता रहेको थियो ।
गाइजात्रा विशेषगरी एक वर्षभित्र दिवंगत भएका आफन्तजनको सम्झना तथा मृतात्माको शान्तिको कामना गर्दै मनाइने सांस्कृतिक पर्व हो ।
गाइजात्रासँग जोडिएको प्रचलित ऐतिहासिक कथाअनुसार, राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन गाइजात्राको परम्परालाई अघि बढाइएको मानिन्छ । रानीलाई आफ्नो मात्र सन्तानको निधन नभई राज्यका अन्य परिवारले पनि आफन्त गुमाएको वास्तविकता बुझाउन मृतकका परिवारलाई जात्रा निकाल्न लगाइएको कथन छ ।
समयसँगै गाइजात्रा मृतकको सम्झना, सांस्कृतिक पहिचान, सामाजिक सहभागिता तथा हास्य–व्यङ्ग्य प्रस्तुतिको पर्वका रूपमा समेत विकसित भएको छ ।
नेपालगञ्जमा सम्पन्न यस वर्षको गाइजात्राले नेवारी भाषा, कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण सन्देश दिएको आयोजकले जनाएको छ ।


