2026 September 01, Tuesday

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबसहित विभिन्न देश पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुली घर भई हाल गोकर्णेश्वर नगरपालिका-६ बस्ने ४६ वर्षीय गणेश बहादुर कार्की, दाङ घर भई नागार्जुन नगरपालिका-४ बस्ने ४७ वर्षीय झगे विक, चितवन घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने ३४ वर्षीय कमल श्रेष्ठ तथा काठमाडौं महानगरपालिका-७ बस्ने ६१ वर्षीया शारदा श्रेष्ठ रहेका छन ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको अनुसन्धानअनुसार गणेश बहादुर कार्कीले सर्विया पठाइदिने भन्दै एक जनाबाट १ लाख ५० हजार रुपैयाँ, झगे विकले युरोप पठाइदिने भन्दै तीन जना पीडितबाट ३० लाख रुपैयाँ, कमल श्रेष्ठले अजरबैजान पठाइदिने भन्दै एक जनाबाट ४ लाख रुपैयाँ तथा शारदा श्रेष्ठले फ्रान्स पठाइदिने भन्दै एक जनाबाट ७ लाख ५० हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए ।

पीडितहरूको उजुरीका आधारमा प्रहरीले गणेश बहादुरलाई काठमाडौं महानगरपालिका-६ बाट, झगे विकलाई काठमाडौं महानगरपालिका-२१ बाट सोमबार तथा कमल श्रेष्ठलाई काठमाडौं महानगरपालिका-१६ र शारदा श्रेष्ठलाई काठमाडौं महानगरपालिका-७ बाट मंगलबार पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।