पुष्प राज हमाल
बाँके । नेपालगन्जको कुनै समस्या देख्दा त्यसलाई चुपचाप हेरेर बस्न नसक्ने स्वभावले एक किशोरलाई पत्रकारितातर्फ डो¥यायो । कक्षा १२ मा पढ्दै गर्दा नेपालगन्जको फोहोर व्यवस्थापनको समस्या उनलाई बारम्बार खट्किन्थ्यो । समस्या देख्ने मात्र होइन, त्यसबारे सम्बन्धित निकाय र समाजको ध्यानाकर्षण गराउनुपर्छ भन्ने लाग्थ्यो ।
त्यतिबेला नेपालगन्जमा नेपाली पत्रपत्रिकाको पहुँच सीमित थियो । भारतीय पत्रपत्रिका भने पर्याप्त मात्रामा आउँथे । यही क्रममा उनले नेपालगन्जको फोहोर समस्याबारे लेखेर भारतीय पत्रिका ‘नवभारत टाइम्स’मा पठाए । पत्र प्रकाशित भयो आफ्नो लेखाइ पत्रिकामा छापिएको त्यो क्षण उनका लागि सामान्य घटना थिएन । त्यही खुसीले उनलाई पत्रकारितातर्फ थप आकर्षित ग¥यो ।
त्यसपछि सुरु भएको उनको पत्रकारिता यात्रा अहिले ३५ वर्षभन्दा लामो भइसकेको छ । यो यात्रामा उनले हुलाकमार्फत समाचार पठाउने समयदेखि फ्याक्स हुँदै इन्टरनेट र डिजिटल पत्रकारिताको युगसम्मको परिवर्तन प्रत्यक्ष अनुभव गरेका छन । द्वन्द्व, महामारी, सामाजिक तथा धार्मिक तनाव र विभिन्न दबाबका बीच पनि उनले कलम चलाउन छाडेका छैनन ।
उनी हुन – सिराजुद्दिन खान, अर्थात् सिराज खान ।
जाजरकोटको बाटो हुँदै पत्रकारितासम्म
सिराज खानको जन्म २०२३ साल असोज २० गते नेपालगन्ज – ३ मा भएको हो । हाल उनी नेपालगन्ज – २ मा बसोबास गर्छन । मध्यमवर्गीय परिवारमा जन्मिएका उनका पिता शमसुद्दीन खानको करिब २५ वर्षअघि निधन भयो ।
नेपालगन्जजस्तो सुविधासम्पन्न सहरमा जन्मिए पनि उनको बाल्यकालको एउटा महत्वपूर्ण हिस्सा जाजरकोटमा बित्यो उनका पिताको व्यवसाय जाजरकोटको पाँचकाटियामा भएकाले उनको प्रारम्भिक शिक्षा जाजरकोटको ढिमेमा भयो ।
त्यतिबेला विद्यालय पुग्न सजिलो थिएन । विद्यालय टाढा भएकाले दैनिक करिब दुईदेखि तीन घण्टा पैदल हिँडेर पढ्न जानुपथ्र्यो । बाल्यकालमा भोगेको त्यो कठिन यात्रा पछि उनको जीवनको संघर्षसँग पनि जोडियो ।
उनले कक्षा चारसम्म जाजरकोटको ढिमेमा पढे त्यसपछि नेपालगन्जको नारायण माध्यमिक विद्यालयबाट कक्षा पाँचदेखि दससम्म अध्ययन गरे भने कक्षा १२ र स्नातक तहको अध्ययन भारतबाट पूरा गरे ।
औपचारिक शिक्षासँगै पत्रकारितालाई व्यावसायिक बनाउन उनले विभिन्न तालिम तथा प्रशिक्षण पनि लिए । ग्रामीण मिडिया प्रवीणता आधारभुत कोर्स, विकास पत्रकारिता, फोटो पत्रकारिता, वातावरण विज्ञानसम्बन्धी लेखन, मिडिया तथा मानवअधिकार, स्वास्थ्य सञ्चार, पत्रकारका लागि नागरिक शिक्षा, खोजी पत्रकारिता र ग्रामीण पत्रकारितालगायतका तालिम उनले लिएका छन ।
एउटा पत्र, जसले बाटो बदल्यो
सिराज खानले २०४४ सालमा पत्रकारिता सुरु गरे पत्रकारितामा प्रवेश गर्ने उनको कारण आर्थिक लाभ वा पेशागत प्रतिष्ठा थिएन समाजमा देखिएका समस्या उठाउने इच्छा थियो ।
नेपालगन्जको फोहोरको विषयमा लेखेको पत्र ‘नवभारत टाइम्स’मा प्रकाशित भएपछि उनलाई आफ्नो कलमले पनि समाजको ध्यान खिच्न सक्छ भन्ने आत्मविश्वास आयो त्यसपछि पत्रकारिता उनको रुचिबाट क्रमशः पेशामा बदलिँदै गयो ।
उनको प्रारम्भिक पत्रकारिता नेपाली पत्र साप्ताहिक र जनमत अर्धसाप्ताहिकबाट अघि बढ्यो ।
त्यो समय आजजस्तो मोबाइल फोन, इमेल र सामाजिक सञ्जाल थिएनन । समाचार लेखेपछि हुलाकमार्फत पठाउनुपथ्र्यो । काठमाडौं समाचार पुग्न नै एक साताभन्दा बढी समय लाग्थ्यो । समाचार प्रकाशित भएर फेरि हातमा आइपुग्दासम्म घटना पुरानो भइसकेको हुन्थ्यो ।
पछि फ्याक्स आयो समाचार पठाउन केही सहज भयो त्यसपछि इन्टरनेटले पत्रकारिताको स्वरूप नै परिवर्तन ग¥यो । सिराजका लागि भने प्रविधि बदलिँदै गए पनि पत्रकारिताको मुल उद्देश्य बदलिएको छैन – समाजका समस्या उठाउने र जनतालाई सही सुचना दिने ।
संवाददातादेखि सम्पादकसम्म
तीन दशकभन्दा लामो यात्रामा उनले थुप्रै सञ्चारमाध्यममा काम गरेका छन । नेपाली पत्र साप्ताहिक, जनमत अर्धसाप्ताहिक, सुरुचि साप्ताहिक, हिमालय टाइम्स राष्ट्रिय दैनिक, नयाँ सडक दैनिक, कारोबार दैनिक, नेपालगन्ज एक्सप्रेस, नेपाली एक्सप्रेस, नेपालगन्ज पोस्ट, संकल्प साप्ताहिक, नशेमन साप्ताहिक, सदभाव दैनिक, निष्पक्ष ध्वनि दैनिक हुँदै अहिले गोरखापत्र दैनिकसम्म उनको पत्रकारिता यात्रा फैलिएको छ ।
नेपालगन्ज एक्सप्रेस, नेपाली एक्सप्रेस, सदभाव दैनिक र नशेमन साप्ताहिकमा उनले कार्यकारी सम्पादकको जिम्मेवारीसमेत सम्हाले ।
जिल्लामा काम गर्ने पत्रकारका लागि कुनै एउटा बिटमा सीमित भएर बस्ने अवस्था हुँदैन । त्यसैले उनले विकास, राजनीति, प्रशासन, अपराध, शिक्षा, स्वास्थ्य, अर्थ, खेलकुदलगायत विभिन्न क्षेत्रका समाचारमा काम गरे ।
तर आर्थिक पत्रकारितामा उनको विशेष अनुभव छ कारोबार दैनिकमा उनले आर्थिक बिट सम्हाले खेलकुद पत्रकारितामा पनि उनले विशेष काम गरेका छन । उनको पत्रकारिताको मुख्य विशेषज्ञतामा अर्थ, खेलकुद, स्वास्थ्य र राजनीति पर्छन ।
खोजी पत्रकारिताले बनाएको पहिचान
सिराज खानको पत्रकारिता यात्रामा खोजी पत्रकारिताले विशेष स्थान ओगटेको छ ।
सुरुचि साप्ताहिकमा उनले गरेको जडीबुटी तस्करीसम्बन्धी खोज समाचार निकै चर्चित बन्यो । नेपालगन्जदेखि कृष्णनगर र भैरहवासम्म भइरहेको अवैध जडीबुटी कारोबारबारे गरिएको उक्त रिपोर्टपछि ठूलो परिमाणमा अवैध जडीबुटी जफत भएको उनको अनुभव छ ।
खेलकुद क्षेत्रमा गरिएको अर्को रिपोर्टले पनि निकै चर्चा पायो । काठमाडौंमा आयोजित एक अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा विदेशी खेलाडी नआएपछि नेपाली खेलाडीलाई नै विदेशी खेलाडीका रूपमा प्रस्तुत गरेर प्रतियोगिता सञ्चालन गरिएको र पुरस्कार वितरण गरिएको विषय उनले सार्वजनिक गरे उक्त समाचारले खेल क्षेत्रमै ठुलो बहस सिर्जना ग¥यो ।
त्यसैगरी भारतका एक कुख्यात अपराधी नेपालगन्जमा लुकेर बसेको विषयमा गरिएको उनको रिपोर्टिङ पनि महत्वपूर्ण रह्यो समाचार प्रकाशित भएपछि ती अपराधी पक्राउ पर्न सहयोग पुगेको उनको अनुभव छ ।
तर त्यो समाचार उनको लागि जोखिमरहित थिएन । समाचार प्रकाशित भएपछि आएको ज्यान मार्ने धम्कीले उनको जीवनकै कठिन समय सिर्जना ग¥यो ।
“धेरै समाचार लेख्दा धम्की र दबाब सामना गर्नुप¥यो तस्करीको समाचार लेख्दा तस्करले पेस्तोल देखाएर धम्की दिएको घटना पनि छ ।” यस्ता अनुभवले उनको पत्रकारिताको यात्रा कति जोखिमपूर्ण थियो भन्ने देखाउँछन ।
द्वन्द्वदेखि कोरोनासम्म
नेपालको पत्रकारिता इतिहासमा द्वन्द्वकाल एउटा कठिन समय थियो । पत्रकारका लागि सही सुचना संकलन गर्नु र त्यसलाई सन्तुलित ढंगले प्रस्तुत गर्नु निकै चुनौतीपुर्ण थियो ।
सिराज खानले पनि माओवादी द्वन्द्वका समयमा कठिन परिस्थितिबीच रिपोर्टिङ गरे कुनै एउटा पक्षको दबाबमा नपरी सन्तुलित समाचार लेख्नु उनका लागि निरन्तर चुनौती थियो ।
द्वन्द्वपछि पनि चुनौती सकिएन कोरोना महामारी आयो त्यसबेला समाचार संकलन गर्नु आफैंमा जोखिमपूर्ण थियो । परिवार र आफन्तहरूमा समेत कोरोना संक्रमण देखिँदा व्यक्तिगत रूपमा पनि उनले कठिन समय भोगे ।
धार्मिक तथा सामाजिक तनावका समयमा पनि उनले संवेदनशील विषयमा रिपोर्टिङ गरे उनका लागि पत्रकारिताको जिम्मेवारी तनाव बढाउने होइन, सत्य सुचना प्रवाह गर्दै समाजलाई संयमित बनाउने पनि हो ।
सदभावको सहर र पत्रकारको भुमिका
नेपालगन्ज बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय समाज भएको सहर हो यहाँ सामाजिक तथा धार्मिक सदभावको विषय निकै संवेदनशील छ ।
सिराज खानले पत्रकारिताको ठूलो हिस्सा सामाजिक तथा धार्मिक सदभावका लागि खर्चिएका छन । उनले पटक – पटक सदभाव कायम गर्ने उद्देश्यले समाचार तथा विशेष सामग्री प्रकाशन र प्रसारण गरेका छन ।
नेपाल – भारत सीमा क्षेत्रमा हुने गतिविधि र त्यहाँका नागरिकका समस्या पनि उनको रिपोर्टिङको महत्वपुर्ण विषय बनेका छन सीमाका समस्या, आवतजावत र नागरिकका सरोकारलाई निरन्तर उठाउँदै आएका छन ।
कोरोना महामारीका बेला जनचेतनामुलक सामग्री प्रकाशन तथा प्रसारण गरेर पनि उनले समुदायलाई सचेत बनाउने प्रयास गरे ।
उनको पत्रकारिता समाचारको सीमाभन्दा बाहिर सामाजिक जिम्मेवारीसँग जोडिएको छ ।
पत्रकारितासँगै सामाजिक अभियान
पत्रकारितासँगै सिराज खान सामाजिक अभियानमा पनि सक्रिय छन । बाँके युनेस्को क्लबमार्फत उनले सामाजिक उत्थान तथा विकासका विभिन्न गतिविधिमा योगदान गर्दै आएका छन ।
नागरिक तथा सामाजिक अभियानमा सहभागिता जनाउने, समुदायलाई सचेत बनाउने र सामाजिक एकता तथा सदभावका लागि काम गर्ने उनको निरन्तर प्रयास रहँदै आएको छ ।
नेपालगन्जलाई सदभावको सहरका रूपमा स्थापित गर्ने प्रयासमा आफुले पनि योगदान गरेको उनको विश्वास छ ।
पुरस्कारले दिएको सम्मान
लामो पत्रकारिता यात्रामा उनले विभिन्न राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार र सम्मान प्राप्त गरेका छन्।
उनले दुई लाख रुपैयाँ राशिको राष्ट्रिय युवा पत्रकारिता पुरस्कार, लुम्बिनी प्रदेश सरकारको ५० हजार रुपैयाँ राशिको सिर्जनशील सञ्चारकर्मी सम्मान, प्रेस काउन्सिल नेपालको समावेशी पत्रकारिता पुरस्कार तथा गोरखापत्र उत्कृष्ट समाचारदाता पुरस्कार प्राप्त गरेका छन ।
यसका अतिरिक्त नेपाल र भारतका विभिन्न संघसंस्था तथा संस्थाबाट पनि उनले विभिन्न सम्मान र पुरस्कार प्राप्त गरेका छन तर पुरस्कारभन्दा महत्वपूर्ण उनका लागि पत्रकारितामार्फत समाजमा पार्न सकिने प्रभाव हो ।
पत्रकारिताको मुल्यबारे स्पष्ट धारणा
सिराज खानका लागि पत्रकारिताका तीन आधारभुत मुल्य हुन – सत्य, निष्पक्षता र जनउत्तरदायित्व ।
उनको स्पष्ट धारणा छ, “पत्रकारितामा जबसम्म सत्य, निष्पक्षता र जनउत्तरदायित्व हुँदैन, तबसम्म त्यो पत्रकारिता नभई चाटुकारिता हुन्छ ।”
उनी पत्रकारितालाई संसारकै उत्कृष्ट पेशामध्ये एक मान्छन उनका अनुसार पत्रकारिता इमानदारी र निरन्तरताका साथ गर्न सके यस क्षेत्रमा भविष्य निकै राम्रो छ ।
तर पत्रकारिताको विश्वसनीयतामाथि चुनौती पनि उत्तिकै रहेको उनी स्वीकार गर्छन । समाचार लेखेपछि रकम नपाएर लेखेको आरोप लगाउने प्रवृत्तिले पत्रकार र पत्रकारितामाथि प्रश्न उठाउने गरेको उनको अनुभव छ ।
सामाजिक सञ्जालको विस्तारले पत्रकारितालाई अर्को ठूलो चुनौती थपेको छ अपुष्ट सुचना र गलत समाचार तीव्र गतिमा फैलिने भएकाले अब व्यावसायिक पत्रकारिताले अझ बढी विश्वसनीय र तथ्यपरक बन्नुपर्ने उनको धारणा छ।
कलम अझै रोकिएको छैन
३५ वर्षभन्दा लामो पत्रकारिता यात्रा पुरा गरिसकेपछि पनि सिराज खानको सक्रियता रोकिएको छैन । उनी अहिले पनि गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाताका रूपमा सक्रिय छन ।
कहिलेकाहीँ पत्रकारिताको अवस्था देखेर वाक्कदिक्क लाग्ने भए पनि पेशा छाड्ने सोच भने छैन ।
किनकि उनका लागि पत्रकारिता केवल जागिर होइन यो समाजसँग जोडिएको जिम्मेवारी हो ।
उनको आगामी लक्ष्य पनि स्पष्ट छ – पत्रकारितालाई विश्वसनीय र सबैको साझा माध्यम बनाउने, पीडित तथा पिछडिएका समुदायको आवाज सरकारसम्म पु¥याउने र समाजमा सुशासन तथा पारदर्शिताका लागि खबरदारी गर्ने ।
पछाडि परेकाको आवाज बन्ने प्रतिबद्धता
आगामी दिनमा समाजका भौतिक विकासबाट बञ्चित र पछाडि परेका समुदायका आवाजलाई प्राथमिकताका साथ उठाउने उनको योजना छ ।
सुशासन र पारदर्शितालाई मुल मन्त्र बनाएर पत्रकारिताको ‘वाचडग’ भूमिकालाई अझ प्रभावकारी बनाउने उनको चाहना छ । पत्रकारिताप्रति जनविश्वास बढाउनु र समाजमा धार्मिक तथा सामाजिक सदभाव कायम राख्न निरन्तर योगदान गर्नु पनि उनको लक्ष्य हो ।
नयाँ – नयाँ ठाउँ घुम्न, नयाँ परिकारको स्वाद लिन, सिनेमा हेर्न र क्रिकेट हेर्न रुचाउने सिराज खानको जीवनमा पत्रकारिता भने रुचिबाट सुरु भएर जिम्मेवारीमा परिणत भएको यात्रा हो ।
जाजरकोटको ढिमेमा विद्यालय पुग्न घण्टौँ पैदल हिँड्ने बालकदेखि हुलाकमार्फत काठमाडौं समाचार पठाउने पत्रकार हुँदै आजको डिजिटल युगमा गोरखापत्रका समाचारदाता बनेसम्मको उनको यात्रा आफैंमा एउटा पुस्ताको पत्रकारिताको कथा हो ।
समय बदलियो समाचार पठाउने माध्यम बदलियो पत्रकारिताको प्रविधि बदलियो तर उनको कलमको उद्देश्य भने धेरै हदसम्म उस्तै रह्यो – समाजका समस्या उठाउने, सत्यको पक्षमा उभिने, पीडितको आवाज बन्ने र सदभावका लागि लेख्ने ।
त्यसैले सिराज खानको ३५ वर्षे पत्रकारिता यात्रालाई केवल एउटा पत्रकारको पेशागत जीवनकथा भनेर सीमित गर्न सकिँदैन । यो संघर्ष, खोजी पत्रकारिता, जोखिम, सामाजिक जिम्मेवारी र सदभावका लागि निरन्तर चलेको एउटा कलमको कथा हो ।


