2026 September 01, Tuesday

काठमाडौं – अनलाइन ठगी तथा अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली र चार बंगलादेशी नागरिक रहेका छन ।

पक्राउ पर्नेहरूमा महोत्तरीको रामगोपालपुर नगरपालिका-९ घर भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएका २१ वर्षीय सुभाष कुमार मण्डल तथा बंगलादेशका MD Jubayer Ahamed (२५), MD Nur Alom (२६), MD Nasim Mia (२४)MD Rani Kamal (२७) रहेका छन ।

नेपाल प्रहरीको साइबर ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बंगलादेशतर्फ प्रस्थान गर्ने क्रममा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूले फेसबुकमार्फत “कतारमा अन्तर्वार्ताबिनै आकर्षक रोजगारी” दिने भन्दै भ्रामक विज्ञापन प्रकाशित गरी सेवाग्राहीलाई शंकास्पद मोबाइल एप डाउनलोड गर्न लगाएका थिए । उक्त एपमार्फत पीडितहरूको बैंक खाताबाट रकम अनधिकृत रूपमा अन्य खातामा स्थानान्तरण गरी ठगी गर्ने गरेको खुलेको छ ।

अनुसन्धानका क्रममा उनीहरू BINANCE प्लेटफर्ममार्फत अवैध रूपमा क्रिप्टो तथा USDT कारोबार समेत गर्दै आएको तथ्य फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरूविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको साइबर ब्यूरोले जनाएको छ ।