न्यु जर्सी । अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सी स्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक फाइनलमा निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलविहीन बराबरीमा रोकिएका थिए । खेलको १०६औँ मिनेटमा टोरेसले गरेको गोल नै स्पेनलाई दोस्रो पटक विश्व च्याम्पियन बनाउन पर्याप्त बन्यो । खेलको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो ।
योसँगै स्पेनले सन २०१० पछि दोस्रो पटक विश्वकप उपाधि जित्दै विश्व फुटबलमा आफ्नो प्रभुत्व पुनः स्थापित गरेको छ । प्रतियोगिताभर स्पेनको रक्षापंक्ति निकै बलियो देखियो र टोलीले आठ खेलमा केवल एक गोल मात्र व्यहोरेर नयाँ कीर्तिमानसमेत बनायो साथै स्पेन पुरुष र महिला दुवै विश्वकपको एकै समयको च्याम्पियन बन्ने पहिलो राष्ट्र बनेको छ ।
साविक विश्व विजेता अर्जेन्टिनाले लगातार दोस्रो उपाधि जित्ने अवसर भने गुमायो । ३९ वर्षीय लियोनेल मेस्सीका लागि यो सम्भवतः अन्तिम विश्वकप खेल बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन । उपाधि गुमे पनि अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डमाथि गरेको ऐतिहासिक पुनरागमन जितसहित उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो पटक विश्वकप फाइनल खेलेको थियो ।
व्यक्तिगत पुरस्कारतर्फ स्पेनका रोड्री ‘गोल्डेन बल’ विजेता बने भने गोलरक्षक उनाई सिमोनले ‘गोल्डेन ग्लोभ’ हात पारे । यता फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पे १० गोलसहित प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्दै लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ जित्न सफल भए ।


