
सिधा पोष्ट संवाददाता
भदौ २५, २०८३, लहान ।सिरहाको मिर्चैया नगरपालिका–१२ सिकरौनबाट प्रहरीले खैरो हिरोइन जस्तो देखिने १५ ग्राम २२० मिलिग्राम लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–१२ सिकरौन बस्ने २४ वर्षीय दिपक सहनी, सोही गाउँका २० वर्षीय सुनिल कापर, २५ वर्षीय सरोज कापर र २२ वर्षीय पप्पु कापर रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर मिर्चैया प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार भदौ २४ गते राति करिब ९ः३० बजे इलाका प्रहरी कार्यालय मिर्चैया र लागूऔषध नियन्त्रण ब्युरो शाखा गोलबजारबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा सिकरौनस्थित नहर क्षेत्रमा शंकास्पद अवस्थामा रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो।
चेकजाँचका क्रममा दिपक सहनीले लगाएको जिन्स पाइन्टको खल्तीमा स्टिकको बट्टाभित्र राखिएको खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी प्रवक्ता रमेश पालले जानकारी दिए।बरामद पदार्थ र पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
समाचार :सत्यपथ खबर
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।