Sidha Post
२०८३ कार्तिक १०, सोमबार

सिरहा गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ

  • सिधा पोस्ट
  • २०८३ कार्तिक १०, सोमबार १०:०२ गते

सिधा पोष्ट संवाददाता

सिरहाको गोलबजार नगरपालिका वडानम्बर ११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् ।

गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर साउन १४ गते सिरहाको गोलबजारमा भएको घटनामा संलग्न भएको आरोपमा वडाध्यक्ष अनवर पक्राउ परेका हुन् ।

उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता रमेशबहादुर पालले जानकारी दिए ।

गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा वडाध्यक्ष अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट सेना’ नामक संस्थाका केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले अनवरविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो ।

प्रहरीका अनुसार अनवर कहिले ससुरालीतर्फ त कहिले अन्य स्थानमा लुकिछिपी बस्दै आएका थिए । घर आए पनि प्रहरीबाट बच्दै लुक्ने गरेको सूचनाका आधारमा उनलाई आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ अनुसार धर्म, जात, जाति, सम्प्रदाय वा भाषाका आधारमा विभिन्न समुदायबीचको सुसम्बन्धमा खलल पार्ने कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ