
काठमाडौं । डा. धवल शम्शेर राणाको सभापतित्वमा नवगठित ‘जय नेपाल पार्टी’ ले आफ्नो राजनीतिक मार्गचित्र र प्राथमिकताहरू सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगमा गत साउन २९ गते विधिवत दर्ता भएपछि बसेको पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू सार्वजनिक गर्दै पार्टीले आफ्नो मुख्य लक्ष्य ‘सनातन धर्म, संवैधानिक राजसंस्था र प्रजातन्त्र’ रहेको स्पष्ट पारेको हो ।
पार्टीले नेपाललाई हिन्दू, बौद्ध र किराँतसहितको सनातन अधिराज्यको रूपमा पुन:स्थापना गर्ने संकल्प गरेको छ । त्यसैगरी, राष्ट्रिय एकता र राष्ट्र रक्षकको भूमिकामा रहने गरी संवैधानिक राजसंस्थाको आवश्यकतामा जोड दिएको छ । बहुदलीय प्रजातान्त्रिक अभ्यास, विधिको शासन र सुशासनमार्फत देशको आर्थिक समुन्नति हासिल गर्ने पार्टीको मुख्य उद्देश्य रहेको दस्ताबेजमा उल्लेख छ ।
जय नेपाल पार्टीले देशको सर्वाङ्गीण विकासका लागि १२ बुँदे प्राथमिकताहरू अघि सारेको छ । पार्टीले आफ्नो चिन्ह ‘त्रिकोण’ को व्याख्या गर्दै यसले हिमाल, पहाड र तराईको एकता, स्थिरता र समुन्नतिलाई प्रतिनिधित्व गर्ने जनाएको छ ।
वर्तमान राजनीतिमा बढ्दो स्वार्थ केन्द्रित प्रवृत्ति र राष्ट्रवादी विचारमाथिको अविश्वासलाई चिर्न ‘जय नेपाल पार्टी’ को छातामुनि गोलबद्ध हुन डा. राणाले आह्वान गरेका छन् ।
पार्टीले आगामी स्थानीय निर्वाचनमा सशक्त रूपमा प्रस्तुत हुने तयारी गरेको छ । यसका लागि ७७ वटै जिल्लामा संगठन निर्माण र विस्तारको प्रक्रियालाई तीव्रता दिइने बताइएको छ । संवैधानिक राजसंस्था र धर्ममा विश्वास राख्ने, भ्रष्टाचारमुक्त समाज चाहने र सुशासनका पक्षपाती सम्पूर्ण नेपालीलाई पार्टीमा आबद्ध हुन र आगामी निर्वाचनमा उम्मेदवार बन्न समेत पार्टीले हार्दिक आह्वान गरेको छ ।
पार्टीको पहिलो कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति डा. धवल शम्शेर राणाले भने, ‘समयको गति र नियतिले हामीलाई एकसाथ उभ्याइदिएको छ । नयाँ पार्टी र नयाँ भूमिकाका साथ हामीले ठूलो अभिभारा काँधमा लिएका छौँ । हामी जे भन्छौँ, त्यही कुरा व्यवहारमा लागू गर्नेछौँ ।’
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।